काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ।
महान्यायाधिवक्ता कार्यालयको निर्णयपछि कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणका अभियोग फिर्ता लिइने भएका छन्।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालका अनुसार सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ।
‘सहकारी ठगीको मुद्दा कायम नै रहन्छ। संगठित अपराध र सम्पत्ति शुद्धिकरणका अभियोग फिर्ता लिने गरी मात्र अभियोगपत्र संशोधन गर्न स्वीकृति दिइएको हो,’ उनले भनिन्, ‘यसलाई समग्र मुद्दा फिर्ता लिएको रूपमा बुझ्न हुँदैन।’
उनले बुधबार चारवटा जिल्ला अदालतमा विचाराधीन अभियोगपत्र संशोधन गर्न स्वीकृति दिने निर्णय गरेकी हुन्। यस निर्णयसँगै कास्की जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता हुनेछ।
त्यस्तै, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा चलिरहेका संगठित अपराधसम्बन्धी मुद्दा पनि फिर्ता लिइने छन्।
चितवन जिल्ला अदालतमा भने रवि लामिछानेविरुद्ध संगठित अपराध वा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा नचलेकाले त्यहाँ अभियोगपत्र संशोधनको निर्णय गरिएको छैन।




















