काठमाडौं । महामन्त्री गगनकुमार थापाले कांग्रेस कसैको निजी कम्पनी नभएको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पक्षधरलाई सम्बोधन गर्दै उनले आफूहरूलाई कसैले निकाल्न नसक्ने बताए।
‘कांग्रेस कसैको निजी कम्पनी होइन, हामीलाईलाई निकाल्नलाई। हामी कसैको घरमा गएको पनि होइन, हाम्रो घरबाट निस्के गइहाल भन्नलाई। कारबाही गर्नुभन्दा अघि स्पष्टीकरण सोध्नुपर्दैन। मलाई सोध्नुपर्दैन। निजी कम्पनीमा समेत त्यो सोध्ने चलन छ,’ उनले भने।
उनले सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकको कुतै तुक नभएको बताए। उनले केन्द्रीय कार्यसमिति भंग भइसकेकाले त्यसले कुनै पनि निर्णय गर्न नसक्ने बताए। ‘बैठकको निर्णयमा कुनै टिप्पणी छैन। तर, केन्द्रीय कार्यसमितिको बैठक बस्न सक्दैन। किनकि त्यो अस्ती नै भंग भइसक्यो,’ उनले भने।
महामन्त्री थापाले पार्टी नफुटेको र पार्टी भृकुटीमण्डमै रहेको बताए।
विशेष महाधिवेशनले नेतृत्व चयन गर्ने उनको भनाइ छ। ‘हामी पार्टीको विधान अनुसार नै चलिरहेका छौं। त्यही विधान टेकेर नयाँ नेतृत्व चयन हुन्छ,’ उनले भने। विधिसम्म आएको परिणामलाई निर्वाचन आयोगले पनि स्वीकार गर्नुपर्ने उनले बताए।
उनले युवाहरूले सत्ता ढालिसकेको स्मरण गराउँदै कांग्रेस कहिले चेत्ने भन्दै प्रश्न गरेका थिए। उनले दुई महामन्त्रीलाई अलमल्याएर संस्थापन पक्षले निर्वाचन आयोगमा पत्र दिएको आरोप लगाए। ‘दुई महामन्त्रीलाई अलमलाउनुहोला। देशभरिका कांग्रेसलाई कसरी अलमलाउनुहुन्छ?,’ उनले प्रश्न गरे।




















