काठमाडौं । राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै सामूहिक रूपमा एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको मोबाइल गतिविधि जाँच गर्दा एकैपटक ठूलो संख्यामा मानिसलाई राजावादी आन्दोलनमा आउन आग्रह गर्दै एसएमएस पठाइएको पाइएको जनाएको छ।
अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार सेढाईंले करिब ५० लाख जनालाई एसएमएस पठाएका छन्। नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ को नाममा सन्देश पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार यस्तो म्यासेज पठाउन सेढाईंले दूरसञ्चार कम्पनीहरूसँग सम्झौता गरेको पाइएको छ। उनले तीनमध्ये दुई कम्पनी प्रयोग गरी करिब एक करोड रुपैयाँ खर्चेर एसएमएस पठाएको दाबी गरेका छन्।
चितवनका सेढाईं कार व्यवसायी रहेको र उनको पेट्रोल पम्पसमेत रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
अनधिकृत रूपमा प्रदर्शन गर्नका लागि व्यक्तिगत रूपमा मेसेज आएपछि गोपनीयता भंग भएको भन्दै टेलिकमको आलोचना भएको थियो । टेलिकमले मंगलबार विज्ञप्ति नै जारी गरी व्यापार व्यवसाय प्रवर्द्धनका लागि मात्रै एसएमएस प्रवाह गर्न स्वीकृति दिने गरेको बताएको थियो ।
विज्ञप्तिमा भनिएको छ – ‘सम्बन्धित सेवा प्रदायकलाई विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने प्रकृतिका सन्देश प्रवाह नगर्न सचेत गराइएको छ। आगामी दिनमा समेत यस प्रकारका सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न सबै सेवा प्रदायकहरूलाई अनुरोध छ ।’




















