काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको नेपाल आयल निगमले सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी थालेको छ। सरकारी स्वामित्वको निगमलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरी आइपिओ निष्कासन गर्ने सम्भावनाबारे अध्ययन भइरहेको निगमले जनाएको छ ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आइपिओ जारी गर्ने विषयमा प्रारम्भिक अध्ययन भइरहेको जानकारी दिए। शनिबार काठमाडौंमा आयोजित निगमको ५६औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले आर्थिक रूपमा सबल बन्दै गएको निगममा सर्वसाधारणलाई समेत हिस्सेदार बनाउने योजना रहेको बताए।
कार्यकारी निर्देशक भट्टका अनुसार गत आर्थिक वर्षमा निगमले कुल तीन खर्ब ६७ अर्ब रुपैयाँको कारोबार गरेको छ। सो अवधिमा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको निगमले एक खर्ब २४ अर्ब रुपैयाँ राजस्व योगदान गरेको छ। उनका अनुसार २०७१ सालमा लागू गरिएको ‘स्वचालित मूल्य प्रणाली’ निगमको आर्थिक सुदृढीकरणको प्रमुख आधार बनेको छ।
डिपो स्थानान्तरण र दुर्गममा पेट्रोलपम्प विस्तार
सुरक्षा जोखिममा रहेका सिनामंगल, भैरहवा र धनगढीका डिपोहरू स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको निगमले जनाएको छ। कर्णाली प्रदेशमा नयाँ डिपो निर्माणको प्रक्रिया सुरु भइसकेको छ भने दुर्गम क्षेत्रका ३७ स्थानमा नयाँ पेट्रोलपम्प स्थापना गरी बोतलमा महँगो इन्धन किन्नुपर्ने बाध्यता हटाउने लक्ष्य लिइएको भट्टले बताए।
पाइपलाइन र भण्डारण पूर्वाधारमा प्रगति
निगमले पछिल्ला वर्षहरूमा पेट्रोलियम पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। मोतीहारी–अमलेखगन्ज ७२ किलोमिटर पेट्रोलियम पाइपलाइन र अमलेखगन्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारणगृह सञ्चालनमा आइसकेको छ। यसबाट ढुवानी खर्च घट्दा उपभोक्ताले प्रतिलिटर करिब दुई रुपैयाँ सस्तोमा इन्धन पाउन सकेको निगमको दाबी छ।
त्यस्तै पोखरामा ३ हजार ६ सय किलोलिटर क्षमताको हवाई इन्धन भण्डारणगृह निर्माण सम्पन्न भएको छ। प्रविधितर्फ अमलेखगन्ज, भैरहवा र थानकोट डिपोमा ‘फ्लो मिटर’ जडान गरी तेल चोरी र चुहावट नियन्त्रणमा पारदर्शिता ल्याइएको छ। इआरपी प्रणालीमार्फत व्यवसायीले मोबाइलबाटै इन्धन अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको भट्टले जानकारी दिए।
यसैगरी सिलगुडी–चारआली तथा मोतीहारी–सर्लाही एलपी ग्यास पाइपलाइन निर्माणका लागि भारतीय पक्षसँग छलफल अघि बढाइएको निगमले जनाएको छ।
क्लिन इनर्जीमा प्रवेश गर्ने योजना
निगमले परम्परागत इन्धनको व्यापारसँगै क्लिन इनर्जीमा समेत लगानी विस्तार गर्ने योजना अघि सारेको छ। पेट्रोलमा इथानोल मिश्रण गर्ने सरकारी नीतिलाई यसै वर्षदेखि कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। साथै काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा हरित हाइड्रोजनको व्यवसायीकरण गरी सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्यमा योगदान पुर्याउने योजना रहेको भट्टले बताए।
सेवा सुधारमा मन्त्रीको निर्देशन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपाल आयल निगमलाई सेवा प्रवाह र संस्थागत सुधारमा ध्यान दिन निर्देशन दिएका छन्। वार्षिकोत्सव समारोहमा बोल्दै उनले पेट्रोलियम पदार्थको आयात, भण्डारण र बिक्रीको एकाधिकारकै भरमा संस्था अघि बढ्न नसक्ने भन्दै निगमलाई सबल, प्रतिस्पर्धी र व्यावसायिक बन्न आग्रह गरे।
निगम सञ्चालक समितिका अध्यक्ष तथा वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेले पेट्रोलियम आपूर्ति प्रणालीलाई अझ चुस्त बनाउनुपर्ने बताए। एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले एलपी ग्यास क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै सिमरामा भण्डारण सुविधा विस्तार गरी पाइपलाइनमार्फत आपूर्ति गर्नुपर्ने सुझाव दिए।


















