काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको संविधान, लोकतन्त्र र राष्ट्रिय भविष्य संकटमा परेको अवस्थामा उत्सव मनाउन नसकिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेखिएको एक स्टाटसमा उनले भूराजनीतिक स्वार्थका सामु झुक्नु दासता भएको र त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान भएको टिप्पणी गरेका हुन् ।
महासचिव पोखरेलले विध्वंस, अराजकता र आतंकका सामु नझुक्नु नै साहस भएको उल्लेख गर्दै यस्तो परिस्थितिमा जनताको मनोबल उठाउन उभिनु नेतृत्वको दायित्व भएको बताएका छन् । “देश र जनताको भविष्य नै संकटमा परेको बेला जन–जनको हृदय जलिरहेको हुन्छ, त्यस्तो अवस्थामा उत्सव मनाउने कुरा कल्पनै गर्न सकिँदैन,” उनले लेखेका छन् ।
उनले देश संकटमा रहेका बेला उत्सव मनाउन नसक्नेहरूलाई कसै–कसैले ‘दास’को संज्ञा दिन सक्ने भए पनि ती व्यक्तिहरू नै वर्तमान समयका ‘स्पार्टाकस’ हुन सक्ने तर्क गरेका छन् । पोखरेलका अनुसार ती ‘स्पार्टाकस’हरूले स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन् ।
महासचिव पोखरेलको यो अभिव्यक्ति पछिल्लो समय मुलुकको आन्तरिक राजनीतिक अवस्था र बाह्य प्रभावबारे भइरहेका बहसका सन्दर्भमा आएको छ। उनले राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने विषयलाई जोड दिएका छन् ।




















