काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै ध्वंस, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्न आह्वान गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाउनुपर्नेमा जोड दिएका छन्। उनले राष्ट्रिय एकता बलियो बनाउँदै देशलाई स्थायित्व, समृद्धि र विकासको बाटोमा अघि बढाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन्।
“आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। ध्वंस, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाऔं,” ओलीले सन्देशमा उल्लेख गरेका छन्।
उनले पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियानको स्मरण गर्दै राष्ट्रिय स्वाधीनता, एकता र अखण्डताको रक्षा आजको आवश्यकता भएको बताएका छन्। ओलीले राष्ट्रिय एकता दिवसले नेपाली जनताबीच आपसी सद्भाव, सहकार्य र एकताको भावना सुदृढ गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।
अध्यक्ष ओलीले अन्त्यमा सबै नेपालीलाई पुनः राष्ट्रिय एकता दिवसको शुभकामना दिँदै देश निर्माणको साझा यात्रामा एकताबद्ध हुन आग्रह गरेका छन्।




















