नूक (ग्रीनल्यान्ड) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज पदार्थका निम्ति धनी डेनिस स्वायत्त क्षेत्र ग्रीनल्यान्ड कब्जा गर्न बल प्रयोगको तरिका अपनाउने भनेपछि त्यहाँका राजनीतिक दलले विरोध गरेका छन् । ग्रीनल्यान्डमा सक्रिय दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “हामी अमेरिकी हुन चाहँदैनौँ ।”
ग्रीनल्यान्डको संसद्का पाँच दलका नेताले भने, “हामी अमेरिकी हुन चाहँदैनौँ, न त डेनिस नै । हामी ग्रीनल्यान्डवासीका रूपमा पहिचान बनाउन चाहन्छौँ ।”
उनीहरूले भनेका छन्, “ग्रीनल्यान्डको भविष्यबारे ग्रीनल्यान्डवासीले निर्णय गर्नैपर्छ ।”
डेनमार्क र अरू युरोपेली सहयोगी अमेरिकाको पहिलेदेखि नै सैन्य आधार रहेको ग्रीनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने घोषणाले स्तब्ध भएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले ग्रीनल्यान्डका समकक्षी र डेनमार्कका प्रतिनिधिसँग अर्को साता भेटवार्ता गर्ने कार्यक्रम छ । (रासस/एएफपी)




















