काठमाडौं । नेपाली कांग्रेसका १७ वटा भ्रातृ संगठनले विशेष महाधिवेशनको विपक्षमा उभिँदै संयुक्त वक्तव्य जारी गरेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्ष निकट भ्रातृ संगठनहरूले त्यसप्रति असहमति जनाउँदै चुनावमा केन्द्रित हुन पार्टीलाई आग्रह गरेका हुन्।
संयुक्त अपिलमा देश र जनतालाई वर्तमान संकटबाट मुक्त गर्न सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरिएको छ। नियमित महाधिवेशनको मिति वैशाख २८ देखि ३१ गतेसम्म तोकिसकिएको र फागुन २१ गते आम निर्वाचन सम्पन्न हुन गइरहेको सन्दर्भमा पार्टी एकढिक्का भएर अघि बढ्नुको विकल्प नभएको उनीहरूको निष्कर्ष छ।
यस अवस्थामा सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई संयमित र जिम्मेवारीपूर्ण ढंगले अघि बढ्न, आपसी सहअस्तित्व स्वीकार गर्दै सहमतिमार्फत समस्याको समाधान खोज्न अपिल गरिएको छ।
त्यसैगरी, पुस २२ गते कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय प्रवेश गर्ने क्रममा पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधिसहित अन्य नेतामाथि भएको अपमानजनक व्यवहारप्रति समेत भ्रातृ संगठनहरूले कडा निन्दा गरेका छन्।





















