काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश भ्रमणका लागि आएका दुईवटा निमन्त्रणापत्र अस्वीकार गरेका छन्। उनले विदेश भ्रमणमा नजाने निर्णय सार्वजनिक गर्दै देशको अर्थतन्त्र सुधार प्राथमिकतामा रहेको बताएका छन्।
मन्त्री बनेपछि यसअघि पनि तीनवटा विदेश भ्रमणका निमन्त्रणाहरू आएको तर ती सबै अस्वीकार गरेको उल्लेख गर्दै उनले यसपटक पनि नजाने स्पष्ट पारेका हुन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “म मन्त्री भएपछि यसअघि आएका तीनवटा विदेश भ्रमणका निमन्त्रणामा गइनँ। अहिले पनि दुईवटा निमन्त्रणा आएका छन्, तीमा पनि जाँदिनँ।”
देशको अर्थतन्त्र कमजोर रहेसम्म प्रधानमन्त्री वा अर्थमन्त्री जो आए पनि उल्लेखनीय प्रगति सम्भव नहुने धारणा राख्दै मन्त्री पुनले अर्थतन्त्र सुधारका लागि ठोस स्रोत र लगानी आवश्यक हुने बताए। उनले प्रश्न गरे, “के विदेश घुमेर मात्रै अर्थतन्त्र बन्छ?”




















