काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै पनि राजनीतिक दलप्रति झुकाव देखाउने छुट नभएको स्पष्ट पारेका छन् ।
गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले सरकारको मुख्य म्यान्डेट तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु रहेको बताए। सरकारले निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले तोकिएको मितिमा नै निर्वाचन हुनेमा कुनै शंका नगर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरे।
जेन–जी आन्दोलन सुशासन स्थापनाका लागि भएको बताउँदै गृहमन्त्री अर्यालले सुशासन कायम राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। तोकिएको समयमा निर्वाचन हुन नसके देशले गम्भीर संकट सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिँदै उनले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने दृढता व्यक्त गरे। साथै सरकारले गरिरहेका कामप्रति विश्वास गर्दै सरकारको मनोबल बढाइदिन पनि उनले सबै पक्षलाई आग्रह गरे।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरूको गतिविधिले निर्वाचनको वातावरण प्रभावित हुन सक्ने तर्फ ध्यानाकर्षण गराउँदै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई पर्याप्त साधन र स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए।
उनले कृत्रिम बौद्धिकता, इन्टरनेट तथा डिजिटल माध्यमको प्रयोगबाट फैलिन सक्ने भ्रामक समाचार र त्यसले आसन्न निर्वाचनमा पार्न सक्ने असरबारे गृह मन्त्रालय र सुरक्षा निकायलाई विशेष सतर्क रहन आग्रह गरे।




















