काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनसम्बन्धी विषयमा गठित जाँचबुझ आयोगमा लिखित जवाफ पठाएका छन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे जानकारी लिन आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो।
उक्त पत्रको जवाफ आयोगमा प्राप्त भइसकेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन्।
आयोगले बयान संकलनलगायतका प्रक्रिया पूरा गरी अब प्रतिवेदन लेखनको काम अघि बढाएको जनाएको छ। यसअघि आयोगले गत साता गृहमन्त्री रमेश लेखकको लिखित वक्तव्य र बयान लिएको थियो।
यसअघि नै आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित विवरण तथा अन्य तथ्यांकहरू संकलन गरिसकेको छ। तल्लो तहका सुरक्षा अधिकारीहरूसँग बयान लिइसकेपछि आयोगले काठमाडौंका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय र प्रहरी मुख्यालयका उच्चपदस्थ अधिकारीहरूसँग समेत बयान लिएको थियो।
त्यसैगरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, तत्कालीन गृहसचिव, मुख्यसचिव लगायतसँग पनि आयोगले बयान लिएको छ। प्रधानसेनापति अशोकराज सिग्देलले आफ्ना अधिकारीहरूसहित आयोगमा उपस्थित भई बयान दिएका थिए। आयोगले प्रारम्भमै पूर्वगृहमन्त्री रवि लामिछाने लगायतसँग पनि बयान लिएको थियो।




















