काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापना हुन नदिन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई दबाब र धम्की दिइँदै आएको आरोप लगाएका छन्। मंगलबार बसेको एमाले सचिवालय बैठकमा बोल्दै उनले यसमा देशी तथा विदेशी शक्तिहरू सक्रिय रहेको दाबी गरेका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष ओलीले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठेको बताएका छन्। उनले भने, “सर्वोच्च अदालतका न्यायाधीशहरूलाई निरन्तर दबाब र धम्की दिइँदै संसद् पुनर्स्थापना रोक्ने प्रयास भइरहेको छ, यसले लोकतान्त्रिक प्रणालीमै खतरा पैदा गरेको छ।”
यसैगरी, वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप पनि लगाए। उनका अनुसार एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू निर्वाचन टार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने प्रयासमा लागेका छन्।
“तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन,” ओलीले बैठकमा भने, “सरकार र केही विदेशी शक्तिहरू चुनाव सार्ने षड्यन्त्रमा सक्रिय छन्।”
उनले वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको उल्लेख गर्दै नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउनु झनै चुनौतीपूर्ण बन्दै गएको बताए।




















