बुटवल । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गरेका छन् ।
गुप्ताले आफू भारतमा रहेकै बेला पार्टीबाट राजीनामा दिएको र महाधिवेशनमा पनि नगएको बताउँदै अब कुन दलमा जाने भन्नेबारे आफ्नो क्षेत्रका मतदाता र शुभेच्छुकसँग सल्लाह गरिरहेको बताएका छन् ।
ईन्जिनियरको स्थायी जागिर छाडेर २०५६ सालदेखि राजनीतिमा आएका गुप्ता सुरुमा राप्रपा, त्यसपछि तमलोपा र दुईपटक एमालेबाट सांसद जितेका थिए ।
गुप्ताले २०५६ र २०७४ मा प्रतिनिधि सभा सदस्य तथा २०६४ र २०७० मा दुईपटक संविधान सभा सदस्यमा जितेका थिए । पाँचौ पटक २०७९ को चुनावमा कांग्रेस नेता सुरेन्द्रराज आचार्यसँग झिनो मतले पराजित भएका थिए ।
यस पटक गुप्तासँगै पूर्वमन्त्री बलराम अधिकारीको नाम फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एमालेबाट सिफारिस भएको थिएन ।
एमालेको क्षेत्रीय समितिले क्षेत्र नम्बर १ मा बिश्राम प्रसाद थारु र क्षेत्र नम्बर २ मा दीर्घ नारायण पाण्डेयको एकल नाम सिफारिस गरेपछि नेता गुप्ता र अधिकारी आउने निर्वाचनमा एमालेको उम्मेदवार नहुने भएका हुन ।
निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा नेत्रराज अधिकारी, अकबाल अहमद शाह, शिराज अहमद फारुकी र मिना परियारको नाम सिफारिस गरिएको हो ।
गुप्ता क्षेत्र नम्बर २ का नेता हुन । गुप्तालाई रास्वपा, नेपाल कम्युनिष्ट पार्टीलगायतका पार्टी मध्येबाट उम्मेदवार बन्ने निकट कार्यकर्ता बताउछन । पार्टीबाट नभए उनी स्वतन्त्ररुपमा उम्मेदवारी दिने सोचमा रहेको बुझिएको छ ।
उता २ पटक प्रतिनिधि सभा सदस्य जितेका तथा मन्त्री बनेका बलराम अधिकारी समेतको नाम यस पकट सिफारिस गरिएन । क्षेत्र नम्बर १ मा भारी मतले जितेका नेता अधिकारी भुमीसुधार तथा सहकारी मन्त्री समेत रहेका थिए । उनले नयाँलाई अवसर दिन आफुले उम्मेदवार हुन दाबी नगरेको बताएका छन ।




















