काठमाडौं । नेपाली कांग्रेसका विभिन्न पाँच प्रदेश सभापतिहरूले बैशाखमा तय भएको नियमित महाधिवेशन र आसन्न निर्वाचनमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।
सोमबार कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पार्टी सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको मिति तय भएसँगै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेकाले नियमित महाधिवेशन र आसन्न निर्वाचनमा ध्यान केन्द्रित गर्न आग्रह गरेका हुन्।
महाधिवेशनपूर्व अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कार्य समयमा नै हुन नसकेकाले वैशाखमा नियमित महाधिवेशन आयोजना गर्न लागिएको उनीहरूले बताएका छन्। कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति बीर बहादुर बलायरले नियमित महाधिवेशनको मिति घोषण भएको अवस्थामा विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएकाले एकताबद्ध भई नियमित महाधिवेशनको तयारी र आम निर्वाचनमा पार्टीका उमेदवारहरूलाई विजयी गराउने कार्यमा जुट्न अनुरोध गरिएको जानकारी दिए।
उनले संस्थागत रूपमा विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको अवस्थामा कुनै व्यक्तिले गर्ने विशेष महाधिवेशनको कुनै अर्थ नरहने बताए ।



















