काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का पूर्व नेतृत्व तथा थरुहट/थारुवान अभियन्ताबीच बृहत् राजनीतिक समायोजनसम्बन्धी ९ बुँदे सहमति भएको छ ।
सहमतिपछि थरुहट/थारुवान अभियन्ताहरू र नाउपाका पूर्व नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन् ।
आज काठमाडौँमा आयोजित कार्यक्रममा रास्वपाका सभापति रवि लामिछाने, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेसहित शीर्ष नेताहरूले नवसमाहित नेताहरूलाई पार्टीमा स्वागत गरे ।
सहमति पत्रमा भ्रष्टाचार र कुशासनविरुद्ध २०८२ साल भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलगायत विभिन्न जनआन्दोलनका शहीद तथा घाइतेहरूको बलिदानलाई स्मरण गर्दै सामाजिक न्यायसहितको प्रतिस्पर्धात्मक उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सहमति अनुसार आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारहरू कार्यान्वयन गरिने उल्लेख छ । समायोजनपछि स्थापित राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, पार्टीको झण्डा, चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने स्पष्ट गरिएको छ ।
सहमति पत्रमा संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी सिद्धान्तप्रति प्रतिबद्ध रहने, थारु बहुल क्षेत्रलाई संविधानको मर्मअनुसार ‘विशेष क्षेत्र’ घोषणा गर्न कानुनी प्रक्रिया अघि बढाउने, टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै उच्चस्तरीय आयोगका सिफारिस कार्यान्वयन गर्ने विषय समेटिएको छ ।
यस्तै, निजामती, न्यायिक र सुरक्षासहित सबै सरकारी सेवामा आरक्षित वर्गका लागि तोकिएको अनुपातमा थारु समुदायको आरक्षण पूर्ण रूपमा लागू गर्ने, प्रादेशिक सुशासनका विषयमा सर्वदलीय सहमति खोज्ने र नवसमाहित नेताहरूलाई पार्टीको तहगत संरचनामा सम्मानजनक समायोजन गर्ने सहमति भएको छ ।
सहमति पत्रमा रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिलाई समेत आव्हान गरिएको छ ।
सहमति पत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल तथा थरुहट/थारुवान अभियन्ता एवं नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मण थारु, दामोदर पण्डित र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् ।




















