काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण सकेर स्वदेश फर्किँदै छन् भने नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन्।
नेकपानिकट प्रवासी नेपालीहरूको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन प्रचण्ड आइतबार भारतको दिल्ली गएका थिए। उनले आज दिउँसो उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भारत भ्रमणका क्रममा प्रचण्डले राजनीतिक भेटघाटसमेत गरेका छन्। उनले भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलसँग भेटवार्ता गरेको जनाइएको छ। यसका साथै अन्य राजनीतिक नेतृत्वसँग पनि छलफल गरेका छन्। प्रचण्ड आज साँझ नेपाल एअरलाइन्सको जहाजमार्फत स्वदेश फर्किने कार्यक्रम छ।
यसैबीच, कांग्रेस नेतृ डा. आरजु राणा देउवा सोमबार अपराह्न २ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गरेकी छन्। उनको भारत भ्रमणको औपचारिक उद्देश्य सार्वजनिक गरिएको छैन भने राजनीतिक भेटघाट हुने बताइएको छ।
यसअघि आइतबार प्रधानमन्त्री सुशीला कार्कीका पति दुर्गा सुवेदी उपचारका लागि दिल्ली गएका थिए। त्यस्तै, गत साता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि दिल्ली पुगेका थिए, जहाँ उनले राजनीतिक नेतृत्वसँग छलफल गरेको जनाइएको छ।




















