काठमाडौँ । सरकारले नेपाल र इजरायलबीच हुन लागिएको श्रम सम्झौतालाई स्वीकृति दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो। बैठकले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र (एमओयू) पनि स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय गरेको छ।
प्रवक्ता खरेलका अनुसार बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२ र वन तेस्रो संशोधन नियमावली–२०८२ पनि स्वीकृत गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठक निर्णय
-समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ।
-जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय भएको छ ।
-नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र स्वीकृत गर्ने निर्णय भएको छ ।
-नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ।
-पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।
-वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।
-नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ ।



















