काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल रूपमा सिफारिस गरिएको छ।
आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी निर्वाचनका लागि पोखरेललाई सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले काठमाडौँ–५ का लागि पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको जनाएको छ।
काठमाडौँ–५ पोखरेलको नियमित निर्वाचन लड्ने गृहक्षेत्रसमेत हो। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। यद्यपि, पोखरेलले यसपटक उम्मेदवार बन्नेबारे क्षेत्रीय कमिटीसमक्ष स्पष्ट धारणा भने राखेका छैनन्।
साबिक क्षेत्र नम्बर ३ रहेको समयदेखि सोही क्षेत्रबाट चुनाव लड्दै आएका पोखरेलले यहाँबाट दुईपटक विजय र तीनपटक पराजय व्यहोरेका छन्। यसपटक उम्मेदवारीप्रति उनले खासै रुचि नदेखाएको स्थानीय नेताहरूको भनाइ छ।
क्षेत्रीय तथा जिल्ला कमिटीका नेताहरूले उम्मेदवारीबारे सोध्दा पोखरेलले पार्टीको मुख्य नेतृत्व, विशेषगरी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि मात्र अन्तिम निर्णय लिने बताएका छन्।
यदि पोखरेल उम्मेदवार नबनेमा यस क्षेत्रबाट पूर्व प्रधानमन्त्री तथा एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीकी बुहारी शान्ति अधिकारी बस्नेत, काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, केन्द्रीय सदस्य नारायण सिलवाललगायत अन्य नेताहरू दाबेदारका रूपमा अघि आएका छन्।
काठमाडौँ जिल्ला कमिटीले सबै क्षेत्रीय कमिटीलाई विस्तारित भेलामार्फत उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको थियो। सोहीअनुसार नगर र वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा नाम प्रस्ताव गरिएको हो।
अब क्षेत्रीय कमिटीबाट आएका सिफारिस नामहरू जिल्लामार्फत प्रदेश कमिटीमा पठाइने काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले जानकारी दिए।




















