जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौँदेखि हिन्दु, मुस्लिमलगायत सबै समुदायको साझा घर भएको उल्लेख गर्दै शान्ति, सद्भाव र एकता कायम गर्न सबैमा आग्रह गरेका छन्।
धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदायबीचको विवादले उग्र रूप लिन थालेपछि मुख्यमन्त्री यादवले सामाजिक सद्भाव जोगाउन विशेष अपिल गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी सन्देशमा मधेशको विविधतालाई नै यसको शक्ति र पहिचानको आधारका रूपमा व्याख्या गरेका छन्।
‘मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन,’ भन्दै मुख्यमन्त्री यादवले पछिल्ला दिनहरूमा देखिएका तनाव, अफवाह र उत्तेजनाले सबैलाई पीडित बनाएको उल्लेख गरेका छन्। हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पार्दै उनले धर्मका नाममा फैलाइने घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको बताएका छन्।
‘हिंसाको बाटोले व्यक्ति, समाज र राज्य सबैलाई गहिरो चोट पुर्याउँछ,’ उनको भनाइ छ।
प्रदेश सरकार सबै नागरिकको सुरक्षा, सम्मान र समान अधिकार सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले शान्ति–सुरक्षाको अवस्था अझ सुदृढ बनाइने बताए। साथै, कुनै पनि प्रकारका अफवाह फैलाउने वा घृणात्मक गतिविधिमा संलग्न जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पार्दै नागरिकलाई संयम र सहकार्यका लागि आह्वान गरेका छन्।




















