काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएको छ । गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाको छानबिनका सिलसिलामा आयोगले ओलीसँग सोधपुछ गरेको हो ।
आयोग स्रोतका अनुसार ओलीसँग आन्दोलनका बेला भएका घटनाक्रम, सरकारको भूमिका र सुरक्षा व्यवस्थाबारे विस्तृत रूपमा प्रश्न–उत्तर गरिएको छ ।
यसअघि आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित विभिन्न सरोकारवाला व्यक्तिहरूसँग बयान लिइसकेको छ । आयोगले सुरक्षा निकायका उच्च अधिकारीहरू तथा अन्य सम्बन्धित पक्षसँग पनि बयान संकलन गरिसकेको जनाएको छ ।
जेन–जी प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधि, मानव अधिकार उल्लङ्घनका सम्भावित घटनालगायत विषयमा सत्यतथ्य पत्ता लगाउने उद्देश्यसहित आयोगले छानबिन अघि बढाइरहेको छ ।



















