काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन्। उनी नेपाल एयरलायन्सको विमानबाट आइतबार अपरान्ह छोरी गंगा दाहाललाई लिएर भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्।
नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन प्रचण्ड भारत गएका हुन्। सोमबार लाजपत भवन अडिटोरियम लाजपत नगरमा हुने कार्यक्रममा उनी सहभागी बन्नेछन्। नेपाली समुदायका साझा सरोकार, नेपाल-भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गरिने नेपाली समाज भारतका महासचिव आरबी खड़काले जानकारी दिए।
भारत जानुअघि संयोजक प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।



















