बुटवल । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देही जिल्ला अध्यक्षसहित ३३ जना नेताहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।
जिल्ला अध्यक्ष तुल्सी थारुका अनुसार पार्टी नेतृत्व तहबाट गरिएका निर्णय, कार्यशैली तथा संगठन सञ्चालनको प्रक्रियाप्रति गम्भीर असहमति जनाउँदै उनीहरूले राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्यहरू महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष रामबहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरीलगायत रहेका छन्।
थारुका अनुसार पार्टी नेतृत्व कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत अघि बढेको महसुस भएपछि उनीहरूले पार्टीका सबै जिम्मेवारी त्याग्दै साधारण सदस्यताबाट समेत राजीनामा दिएका हुन्।
नाउपा परित्याग गरेपछि सोमबार नाउपाका पूर्व पदाधिकारीहरू तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिसहित आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित हुने तयारी रहेको उनले जानकारी दिए।



















