काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव रघुवीर महासेठले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य हुन सक्ने सम्भावना रहेको बताएका छन्।
आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा महासेठले संघीयता, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्न एमाले कांग्रेससँग सहकार्य गर्दै अघि बढ्न सक्ने स्पष्ट पारे। उनले पछिल्लो राजनीतिक परिस्थितिमा गठबन्धन असम्भव विषय नभएको धारणा राखे।
आगामी चुनावमा कांग्रेस र एमाले मिलेर जान सक्ने सम्भावनाबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने, “देशमा अहिले भइरहेका षड्यन्त्रहरूविरुद्ध राजनीतिक सहकार्य हुन सक्छ। भोलि कांग्रेस र एमाले एकसाथ चुनाव लड्न पनि सक्छन्।”
तर, महासेठले वर्तमान सरकारले जानी वा नजानी निर्वाचन नै विथोल्ने काम गरिरहेको आरोप लगाए। जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीहरू गम्भीर चुनौती बनेको उल्लेख गर्दै उनले भने, “लुटिएका हतियारमध्ये ५० प्रतिशत पनि फिर्ता भएका छैनन् र भागेका कैदीमध्ये धेरै अझै बाहिर छन्। यस्तो अवस्थामा निष्पक्ष र सुरक्षित निर्वाचन कसरी सम्भव हुन्छ?”



















