काठमाडौँ । अमेरिकाले भेनेजुएलामा गरेको सैन्य आक्रमणका क्रममा कम्तीमा ४० जनाको मृत्यु भएको न्युयोर्क टाइम्सले जनाएको छ।
रिपोर्टअनुसार शनिबार अमेरिकी सेनाले राजधानी काराकाससहित विभिन्न सहरहरूमा आक्रमण गर्दै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई त्यसपछि न्यूयोर्क लगेर हिरासतमा राखिएको जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको दाबी गरेका थिए। तर न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको रिपोर्टमा अमेरिकी सेनाले मादुरोलाई नियन्त्रणमा लिने उद्देश्यले गरेको सैन्य कारबाहीमा सर्वसाधारण र सैनिक दुवैको मृत्यु भएको उल्लेख छ।
भेनेजुएलाका एक वरिष्ठ अधिकारीलाई नाम नखुलाउने सर्तमा उद्धृत गर्दै समाचारमा अमेरिकी आक्रमणमा कम्तीमा ४० जनाको ज्यान गएको जनाएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार उक्त अपरेसनमा व्यापक हवाई कारबाही गरिएको थियो। भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पार्न १५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरिएको र त्यसपछि हेलिकोप्टरमार्फत स्थल सेना उतारेर मादुरो रहेको निवासमा आक्रमण गरिएको थियो।
यद्यपि, मृतकको संख्या र अपरेसनको पूर्ण विवरणबारे ह्वाइट हाउस वा पेन्टागनले तत्काल कुनै औपचारिक पुष्टि गरेका छैनन्।
अमेरिकी सेनाले शनिबार बिहान मादुरो र फ्लोरेसलाई नियन्त्रणमा लिएर देशबाहिर लगेको थियो। राष्ट्रपति ट्रम्पले यसलाई छोटो समयमा सम्पन्न गरिएको सफल कारबाहीको संज्ञा दिएका छन्। उनले ‘सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण’ नहुन्जेलसम्म अमेरिकाले भेनेजुएलाको प्रशासन सञ्चालन गर्ने पनि बताएका छन्।
यसैबीच, भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छन्।
न्युयोर्कको दक्षिणी जिल्लाका संघीय अभियोजकहरूले मादुरो र फ्लोरेसमाथि कोकिन तस्करीलगायत विभिन्न आपराधिक अभियोग लगाउँदै अभियोगपत्र सार्वजनिक गरेका छन्।
तर आलोचकहरूले अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको, कंग्रेसको स्वीकृति बिना गरिएको र यसले भेनेजुएला मात्र होइन, समग्र क्षेत्रमै थप अस्थिरता सिर्जना गर्न सक्ने चेतावनी दिएका छन्।




















