काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपको कडा आलोचना गरेका छन्। उनले यस्तो कदम संयुक्त राष्ट्रसंघको वडापत्रको स्पष्ट उल्लंघन भएको भन्दै आधुनिक विश्व र सभ्य समाजका लागि अस्वीकार्य भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत पोखरेलले अमेरिकाले भेनेजुएलामा हवाई आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर अमेरिका लगेको घटनाप्रति आपत्ति जनाएका छन्। मादुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलाका उपराष्ट्रपति रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति घोषणा गरेको जनाइएको छ।
पोखरेलले कुनै पनि देशका जननिर्वाचित राष्ट्रप्रमुखलाई अर्को देशको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्यले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूको औचित्यमाथि नै प्रश्न उठाउने बताएका छन्। उनका अनुसार यस्तो अभ्यास अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय सार्वभौमिकता र लोकतान्त्रिक मूल्यविरुद्ध छ।
उनले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपले विश्वव्यापी रूपमा गम्भीर प्रश्नहरू जन्माएको उल्लेख गर्दै यस विषयमा स्वयं अमेरिकी समाजभित्र पनि जिम्मेवार र गहन बहस आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।





















