काठमाडौं । कतार सरकारले १३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर विभिन्न जेलमा रहेका नेपालीहरूलाई आममाफी प्रदान गरिएको हो।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आममाफीका लागि कतार सरकारप्रति आभार व्यक्त गरेको छ। विज्ञप्तिमा राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीलाई उदारतापूर्वक अमिरी आममाफी दिइएको उल्लेख छ।
नेपाल सरकारले यस क्षमादानलाई नेपाल–कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्ध, मित्रता र सौहार्दताको प्रतीकका रूपमा लिएको जनाएको छ। मानवीय आधारमा प्रदान गरिएको दयालु आममाफीको उच्च कदर गरिएको पनि विज्ञप्तिमा भनिएको छ।
यसअघि नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिएको थियो। हाल कतारमा करिब पाँच लाख नेपाली कार्यरत छन्। गत वर्ष मात्रै एक लाख ४० हजार ७ सय ९२ जना नेपाली वैदेशिक रोजगारीका लागि कतार गएका थिए।

























