काठमाडौं । नेपाली कांग्रेसले यही २०८२ पुस २७ र २८ गते काठमाडौंस्थित भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । सोहीअनुसार कांग्रेसले महाधिवेशन सञ्चालनका लागि आवश्यक विभिन्न स्थान उपलब्ध गराइदिन समाज कल्याण परिषद्, भृकुटीमण्डप व्यवस्थापन विभागलाई औपचारिक पत्रमार्फत अनुरोध गरेको छ।
पत्रमा उल्लेख भएअनुसार महाधिवेशनका लागि प्रदर्शनी हल, ठूलो चौर, बगैंचा तथा मूलगेट छेउको चौर निर्धारित मितिमा प्रयोग गर्न दिन आग्रह गरिएको छ। प्रदर्शनी हल र ठूलो चौर दुई दिनका लागि, बगैंचा एक दिनका लागि तथा मूलगेट छेउको चौर एक दिनका लागि माग गरिएको हो।
नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक समिति २०८२ का सदस्य रमेश प्रसाद धमलाद्वारा हस्ताक्षरित पत्रमा महाधिवेशन सफलताका लागि आवश्यक सहयोग गर्न अनुरोध गर्दै अन्त्यमा ‘जय नेपाल’ उल्लेख गरिएको छ।
कांग्रेसको विशेष महाधिवेशनलाई वर्तमान राजनीतिक सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ ।





















