काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको संरक्षण सुनिश्चित नगरी देशले समृद्धि हासिल गर्न नसक्ने बताएका छन्।
बुधबार महासंघद्वारा आयोजित सर्वपक्षीय भेलालाई सम्बोधन गर्दै ढकालले निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गरे। आसन्न निर्वाचनका लागि सरकारको पहल र मेहनत प्रशंसनीय रहेको भन्दै उनले राजनीतिक दलहरूको सक्रियताले सकारात्मक चुनावी वातावरण बनेको बताए।
तर, उनले समृद्धिको मुख्य आधार मानिने निजी क्षेत्र अझै असुरक्षित अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गरे। “समृद्धिका लागि निजी क्षेत्रको संरक्षण अनिवार्य छ, तर निजी क्षेत्रले निर्बाध रूपमा काम गर्न पाउने सुनिश्चितता अझै देखिएको छैन,” उनले भने, “निजी क्षेत्र ढुक्क भएर लगानी गर्ने वातावरण बनिसकेको छैन।”
गलत काम गर्नेहरूमाथि प्रभावकारी कारबाही नहुँदा दण्डहीनता बढ्ने खतरा रहेको उनले औंल्याए। उनका अनुसार सम्पत्तिको सुरक्षा र लगानीबीच प्रत्यक्ष सम्बन्ध छ। “सम्पत्तिको सुरक्षा नभएसम्म लगानीको वातावरण बन्छ भन्ने अनुभूति हुँदैन, र लगानी बिना रोजगारी सिर्जना सम्भव हुँदैन,” उनले स्पष्ट पारे।
























