काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच औपचारिक रूपमा पार्टी एकता भएको छ।
बुधबार राष्ट्रिय सभा गृहमा आयोजित एकता घोषणा कार्यक्रममा दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरेका हुन्।
यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपाको केन्द्रीय कार्यालयमा दुवै नेताबीच एकता सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। २०७८ सालमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी परित्याग गरी राप्रपा नेपाल गठन गरेका थिए।
चार वर्षपछि सम्पन्न भएको यस एकताले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजावादी धारका मतहरूलाई एकीकृत गर्ने अपेक्षा गरिएको छ।


























