पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखरा आएका छन्। उनी जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने प्रयोजनका लागि पोखरा पुगेका हुन्।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने यसअघि धरौटीमा रिहा भएका थिए। अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार अन्य प्रतिवादीहरूको म्याद एकै पटक मिलाउनका लागि लामिछाने अदालतमा उपस्थित भएका हुन्। अबदेखि यस मुद्दाका सबै प्रतिवादीको तारिख एउटै मितिमा तोकिएको उनले जानकारी दिए।
उक्त प्रकरणमा रवि लामिछाने २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। पछि पुस २५ गते ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए।

























