काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन-जी विद्रोहबाट बनेको चुनाव गराउने असंवैधानिक सुशीला कार्की नेतृत्वको सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको असुली धन्दाका तथ्यहरु बाहिरिएका छन् ।
देशलाई सुशासन र भ्रष्टाचारमुक्त गराउने नाममा बनेको सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङका भ्रष्टाचारजन्य गतिविधिले यो असंवैधानिक तथा भ्रष्ट सरकारको असली रुप देखिएको छ ।
कुलमानका अघोषित स्वकीय सचिव सचिन गौतममार्फत् कुलमानले मन्त्रालयबाट करोडौँ रकम असुलिरहेका छन् । उनले सचिन गौतममार्फत् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका १२० जना इन्जिनियरहरुको सरुवा गर्दा २०औँ करोड असुलउपर गरेको मन्त्रालयका एक कर्मचारीले नाम नबताउने शर्तमा जानकारी दिएका छन् । घिसिङले पैसा उठाउने घुमुवाका रुपमा गौतमलाई प्रयोग गरेका छन् । त्यसमा सडक मन्त्रालयका डिजीदेखि लिएर सबै संलग्न रहेको मन्त्रालय स्रोतले बताएको छ ।
सचिन गौतम भनेका नाममात्रका पत्रकार हुन् । विद्युत् प्राधिकरणको तत्कालीन एमडी हुँदा कुलमानले महिनाको ३ लाख बुझ्ने गरी गौतमलाई तनहुँ हाइड्रोपावरमा नियुक्ति गरेका थिए । विभिन्न हाइड्रोपावरमा पैसा असुल्नका लागि उनलाई नियुक्ति गरिएको थियो । उनै गौतम अहिले मन्त्रालयको सरुवा, बढुवा र नियुक्ति गर्दा पैसा उठाउने कार्यको जिम्मेवारी पूरा गरिरहेका छन् । घिसिङको एकमात्र ध्याउन्न भनेको पैसा कमाउने रहेको एक इन्जिनियरले नाम नबताउने शर्तमा बताएका छन् । गौतमको काम भनेको डिइ, डिभिजन इन्जिनियर, डिभिजन प्रमुख, डिजीलगायतको सरुवा बढुवा गर्दा पैसा असुली गर्ने रहेको छ । मन्त्रालयबाट सरुवा बढुवा गर्दा पैसाबिना कुनै पनि काम नहुने गरेको पीडित एक डिभिजन प्रमुखले गुनासो गरे । यस्तै सडक विभागका डिजी विजय जैसी पनि करोडौँ कुम्ल्याउँदै कुलमानलाई साथ दिइरहेका छन् ।
यसैगरी कुलमानले विद्युत प्राधिकरणमा प्रमुख हुँदा गरेका अर्बौँको भ्रष्टाचारका बारेमा तत्कालीन डिआइजी रमेश खरेलका टिकटक र फेसबुकमा पढ्न र हेर्न पाइन्छ । उनले आफन्तका नाममा करोडौँ रकम राखेका छन् भने छोराहरुका लागि अमेरिकामा घर किन्नेसम्मको रकम भ्रष्टाचारबाटै कमाएकोमा नेपाली जनतालाई जानकारी नै छ ।
यसबाट के बुझिन्छ भने यो जेन-जी सरकार भ्रष्टाचार निवारण गर्न होइन पैसा लुट्न र भ्रष्टाचारमा विद्यावारिधि नै गर्न तल्लीन रहेको बुझ्न कठिन छैन । सुनियोजित रुपमा पश्चिमाहरुको ग्राण्डडिजाइजनमा बनेको अवैधानिक सरकारका भौतिक पूर्वाधारमन्त्री कुलमानले गरेका अर्बौँ लुटधन्दाबाट के बुझ्न सकिन्छ भने यो सरकार देश र जनतालाई लुट्न मात्र बनेको हो । यसले देशमा सुशासन र भ्रष्टाचारको अन्त्य होइन देशलाई आर्थिक रुपमा धराशायी बनाउने निश्चित छ । त्यसैले यो भ्रष्ट, सुनियोजित र असंवैधानिक सरकारप्रति हरेक नेपाली जनता सचेत र सजक हुनु जरुरी छ ।
























