काठमाडौं । नेपाली काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै देश जलाउने लुसिफरहरुबाट आफूहरुमाथि खतरा नरहेको टिप्पणी गरेका छन् ।
मंगलवार काठमाडौंमा मदन–आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले समाजमा खतरा दुष्टको धृष्टताबाट नभइ सज्जनको निषेधबाट हुने जिकिर गरे । उनले देश जलाउने लुसिफर र सहकारी ठगी गरेर पपुलिजमको खेती गर्नेहरुसँग खासै डर नरहेको बताए ।
विभिन्न नाटकको रुपमा गएर सिंहदरबार जलाउने, संसद भवन, सर्वोच्च, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौँ धरोहरहरु जलाउनेहरुबाट पनि त्यति डर नरहेको र यो क्षणिक हुने उनको भनाइ छ ।
उनले यो नेपालमा पटकपटक गरेको क्रान्ति संघर्ष र आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको समूल नष्ट गर्ने कुनै कुनाबाट चालेको अभियान भएको बताए ।
नेता विश्वकर्माले भदौ २३ र २४ को घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर गरे ।
























