काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूको आकांक्षाअनुसार देश निर्माण गर्ने दिशामा सरकार दृढतापूर्वक अघि बढिरहेको बताएकी छिन् ।
तमु ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले पछिल्ला दिनमा देखिएका परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक मार्गमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर भएको उल्लेख गरिन् ।
उनले स्वच्छ र निष्पक्ष निर्वाचनलाई यस प्रक्रियाको मुख्य आधारका रूपमा प्रस्तुत गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनका लागि देशभर सकारात्मक वातावरण बनिरहेको दाबी गरेकी छिन् । राजनीतिक दलहरूले उत्साहका साथ समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गर्नुले निर्वाचन सम्पन्न गर्ने दिशामा अर्को महत्वपूर्ण कोशेढुंगा पार भएको उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् ।

























