काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही व्यक्तिहरू सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौँ जस्तो गरी रमाइरहेको टिप्पणी गरेका छन् । रवि लामिछाने, बालेन्द्र साह (वालेन) र कुलमान घिसिङबीच भएको एकता पछि सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति टिप्पणी गर्दै प्रचण्डले विचार, इतिहास, त्याग–तपस्या र बलिदानबिनाका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत हल्ला फैलाइरहेको बताए ।
रुकुमबाट १५ दिन पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई धन्यवाद दिन मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘आज सामाजिक सञ्जाल हेर्दा विचारविहीन, इतिहासविहीन, त्याग–तपस्या, बलिदान र निष्ठाविहीनहरूले देश पूरै कब्जा गरिसकेजस्तो होहल्ला मच्चाइरहेका छन्,’ उनले भने, ‘सहर–बजारका केही मानिस यस्तै हल्लामा रमाइरहेका छन्। दशकौँसम्म संघर्ष, आन्दोलन र त्याग–तपस्याका कीर्तिमान कायम गरेका शक्तिलाई बदनाम गर्न खोजिँदैछ।’
प्रचण्डले सामाजिक सञ्जालमा हल्ला फैलाउनेहरू नै मुक्तिदाता हुन् भन्ने जस्तो वातावरण सहर–बजारमा बनाइएको उल्लेख गरे। लामो इतिहास र संघर्ष भएका पार्टीहरू अब सकिए भन्ने प्रचार जनताले नपत्याएको उनको दाबी थियो।
उनले जनतामा नेपाली कम्युनिष्ट पार्टी र यसले अँगालेको विचारप्रति अझै आकर्षण कायम रहेको जिकिर गरे।
प्रचण्डले अहिलेको समय सूचना प्रविधि ९आईटी० र कृत्रिम बुद्धिमत्ता ९एआई० को भए पनि यसको प्रयोगप्रति सचेत हुनुपर्नेमा जोड दिए।
‘यो आइटी र एआईको समय हो, जसले मानव चेतनालाई नयाँ तहमा पुर्याइरहेको छ,’ उनले भने, ‘तर यसको प्रभाव, प्रभुत्व र स्वामित्व प्रतिक्रियावादी शक्तिहरूको हातमा छ। उनीहरूले चाहेअनुसार नै यसको प्रयोग भइरहेको छ।’
मोबाइल र सामाजिक सञ्जाल आफूले चलाइरहेको जस्तो देखिए पनि वास्तविक नियन्त्रण वैदेशिक साम्राज्यवाद र प्रतिक्रियावादी शक्तिकै हातमा रहेको प्रचण्डको भनाइ थियो।
























