काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारसमक्ष १५ बुँदे माग प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ।
अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा गएको टोलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई भेटेर ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा विदेशी शिक्षण संस्थाहरूलाई व्यवस्थित गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न माग गरिएको छ। विदेशी शिक्षण संस्थाको प्रशासनिक अभिलेख, सञ्चालन अनुमति तथा नवीकरण प्रक्रिया सम्बन्धित मन्त्रालयमार्फत गर्ने व्यवस्था हुनुपर्ने र गुणस्तर सुनिश्चितता, अनुगमन तथा मापदण्ड निर्धारणको जिम्मेवारी विश्वविद्यालय अनुदान आयोगलाई दिनुपर्ने अनेरास्ववियुको माग छ।
त्यसैगरी, मापदण्ड पूरा नगर्ने, एकभन्दा बढी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरिएका, नेपाली र विदेशी दुवै विश्वविद्यालयको सम्बन्धन लिएर एउटै स्थानमा पठनपाठन गराउने तथा तीन वर्षे स्नातक कार्यक्रमलाई चार वर्ष र एक वर्षे स्नातकोत्तर कार्यक्रमलाई दुई वर्ष बनाइ सञ्चालन गर्ने संस्थामाथि कडा कारबाही गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ।

























