काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राख्दै दिगो लोकतन्त्र स्थापनाको एकमात्र माध्यम निर्वाचन भएकाले यस प्रक्रियामा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेकी छिन् ।
मंगलबार बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भएको भेटमा प्रधानमन्त्री कार्कीले मुलुक अब निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै शान्तिपूर्ण ढंगले आफ्ना माग र असन्तुष्टि व्यक्त गर्न आग्रह गरेकी हुन ।
प्रधानमन्त्री कार्कीले मुलुकले अब थप अस्थिरता र अशान्ति धान्न नसक्ने अवस्था आएको बताउँदै जनतामार्फत आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको सही बाटो भएको स्पष्ट पारेकी छिन् ।
‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थातर्फ फर्काएका छौँ,’ उनले भनिन्, ‘सबै खालका संशयलाई चिर्दै देश पूर्णरूपमा निर्वाचनको माहोलमा प्रवेश गरिसकेको छ। यस्तो अवस्थामा सबै पक्षबाट जिम्मेवार भूमिका अपेक्षित छ । यो देश मेरो पनि हो भन्ने भावनासहित सबै जिम्मेवार बनौँ।’
भेटका क्रममा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र प्रसाईंलाई उपहारस्वरूप प्रदान गरिन् ।
प्रधानमन्त्रीले सरकार न्यायका पक्षमा रहेको उल्लेख गर्दै भनिन्, ‘हामी सत्ताभोग वा सुखसयलका लागि आएका होइनौँ। भ्रष्टाचारको अन्त्य र शोषित–पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरिसकेका छौँ। सबै नतिजा तत्काल नदेखिए पनि हामीले आवश्यक आधार तयार पार्दै गएका छौँ। तपाईंले उठाउनुभएका केही जायज मुद्दाको सम्बोधनका लागि पनि सरकार गृहकार्यमा जुटिरहेको छ। आगामी दिनमा थप छलफल गर्दै जानेछौँ ।’
























