काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्।
निर्वाचन आयोगमा दर्ता भएका १०० दलमध्ये सोमबार र मंगलबारसम्म जम्मा ६४ दलले मात्रै समानुपातिक उम्मेदवारको सूची पेस गरेका हुन्। आयोगका अनुसार निर्धारित समयभित्र समानुपातिक प्रणालीतर्फ ६४ दलबाट कुल ३ हजार ४२४ जनाको उम्मेदवारी परेको छ।
यसपटक समानुपातिकतर्फ ११० सिटका लागि हजारौँ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। केही दलले एकल चुनाव चिह्नमा निर्वाचन लड्ने भएका छन् भने केही दलले साझा चुनाव चिह्न प्रयोग गर्ने आयोगले जनाएको छ।
आयोगका अनुसार ६४ दल ५८ वटा चुनाव चिह्न प्रयोग गरेर निर्वाचनमा सहभागी हुँदैछन्। तीमध्ये ५४ दलले आ–आफ्नै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेछन् भने १० दल चारवटा साझा चुनाव चिह्नअन्तर्गत निर्वाचन लड्ने भएका छन्।
समानुपातिक बन्दसूची बुझाउने दलहरूमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल श्रम संस्कृति पार्टी, बहुजन शक्ति पार्टी, नेकपा संयुक्त, नेकपा, नेपाली जनता दल, जय मातृभूमि पार्टी, नेकपा माओवादी, सार्वभौम पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता दल, संयुक्त नागरिक पार्टी, राष्ट्र निर्माण पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल मातृभूमि पार्टी, मितेरी पार्टी, जनअधिकार पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, संसदीय लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, कांग्रेस बीपीलगायतका दल रहेका छन्।
























