काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच पार्टी एकता गर्ने सहमति भएको छ। सोमबार साँझ काठमाडौँको कमल पोखरीमा रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपालका कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको छलफलपछि उक्त सहमति भएको हो।
सहमति अनुसार, एकतापछि बन्ने दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ। पार्टीको झन्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने, चुनाव चिन्ह घण्टी नै कायम रहने तथा केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने निर्णय गरिएको छ।
दुवै पक्षले भ्रष्टाचार र कुशासनविरुद्ध जेन–जीले उठाएको आन्दोलनको भावना आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।
आन्दोलनका क्रममा घाइते र दिवंगत भएका व्यक्तिहरूको बलिदानलाई प्रेरणाका रूपमा लिँदै लोकतान्त्रिक र सुशासनमुखी राजनीतिका लागि सहकार्य अघि बढाइने सहमतिमा उल्लेख छ ।


























