काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सम्बन्धी औपचारिक सहमति भएको छ। बदलिँदो राजनीतिक घटनाक्रम र जनआन्दोलनले सिर्जना गरेको विशिष्ट परिस्थितिलाई ध्यानमा राख्दै दुवै दलले नयाँ राजनीतिक शक्तिको रूपमा अघि बढ्ने निर्णय गरेका हुन्।
सहमति पत्रमा २०८२ साल भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनमा जीवन आहुति दिने शहीद तथा घाइतेहरूको बलिदानप्रति सम्मान व्यक्त गर्दै उनीहरूका परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। भ्रष्टाचार र कुशासनविरुद्ध युवापुस्ताले उठाएको आवाजलाई आत्मसात् गर्दै सुशासन र जवाफदेहितामा आधारित राजनीति अघि बढाइने सहमतिमा उल्लेख छ।
एकतापछि कायम हुने दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। पार्टीको झन्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र निलो रङको घण्टी रहनेछ भने चुनाव चिन्ह पनि ‘घण्टी’ नै कायम रहने सहमति भएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने जनाइएको छ।
सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन्। उपसभापतिमा कुलमान घिसिङ, डी.पी. अर्याल र स्वर्णिम वाग्ले रहने उल्लेख गरिएको छ। उज्यालो नेपाल पार्टीसँग आबद्ध युवा अभियन्ता तथा विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा पार्टी संरचनामा समुचित रूपमा समायोजन गरिने बताइएको छ ।
दुवै दलले उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, मेरिटोक्रेसीको स्थापना, भ्रष्टाचारमा शून्य सहनशीलता र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याएका छन्। आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित आवश्यक नीतिगत, संस्थागत र संरचनात्मक सुधारहरू इमानदारीपूर्वक कार्यान्वयन गर्ने सहमति भएको छ ।
सहमति कार्यान्वयनका लागि आवश्यक सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा विश्वास गर्ने अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा गोलबद्ध हुन आह्वान गरिएको छ।
सहमति पत्रमा रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय तथा सम्बन्धित पक्षका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् भने सहमति पत्रमा काठमाडौंमा आयोजित कार्यक्रममा बालेन्द्र शाह साक्षीको रूपमा राखिएकाे छ ।


























