काठमाडौं । उर्जा मन्त्री कुलमान घिसिङलाई उपसभापति बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी तयार भएको छ। स्रोतका अनुसार सोमबार भएको सहमति अनुसार सभापति रवि लामिछानेपश्चात दोस्रो वरियतामा रहने गरी घिसिङलाई उपसभापति दिने सहमति भएको हो।
यस अगाडि रवि लामिछाने सभापति र बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ। त्रिपक्षीय सहमतिमा बालेनलाई तेस्रो वरीयतामा राखिने भएको छ । नयाँ सहमतिसँगै हालका उपसभापतिद्वय डीपी अर्याल चौथो र डा. स्वर्णिम वाग्लेको वरीयता पाँचौँ रहनेछ ।
सोमबार कुलमान घिसिङ र रवि लामिछानेबीच भएको भेटवार्तामा एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएको छ । सोमबार उर्जा मन्त्री कुलमान घिसिङ र रास्वपा रवि लामिछानेबीच भेटवार्तापछि दुवै एउटै दलबाट निर्वाचनमा जान सहमत भएको द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी भने परिवर्तन नहुने बताइएको छ । गुरुङले भने, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाइछोडिम र इतिहासले सम्झनेछ। रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन्।’
सोमबार दिउँसो कुलमानलाई छुटाउन नहुने भन्दै गुरुङ रास्वपा कार्यालयमा पुगेका थिए ।

























