काठमाडौं । नेकपा एमालेले सोमबार समानुपातिकको बन्द सूची पठाउने भएको छ। एमालेका उपमहासचिव लेखराज भट्टले आजको सचिवालय बैठकमा जिल्ला र प्रदेशबाट प्राप्त नामावली अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको जानकारी दिए। उनले पेश भएका नाममाथि छलफल भएको र भोलि केही संशोधनसहित पारित गरेर आयोगमा दर्ता गर्न पठाउने निर्णय भएको जानकारी गराए।
भट्टले बन्दसूचीमा अध्यक्ष ओलीले आवश्यक ठानेमा पुन: करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने भन्ने निर्णय पनि भएको उल्लेख गरे।
यसैरी उपमहासचिव भट्टले सचिवालयको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, समसामयिक राजनीति र आगामी रणनीतिबारे जानकारी गराएको बताए।
उनले संसद् पुनर्स्थापनामा जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेकोबारे पनि छलफल भएको बताए। उनले निर्वाचनबाट भाग्ने पार्टी एमाले नभएकाले जनतालाई आफ्नो पार्टीले गरेको काम जनतामाझ लैजान परिचालित गर्नुपर्ने अध्यक्षले धारणा राखेको बताए।
भट्टले अध्यक्ष ओलीले बालुवाटारमा प्रधानमन्त्रीसँगको बैठकमा सुरक्षाको ग्यारेन्टी र निर्वाचनको वातावरण निर्माण भएमात्र एमाले चुनावमा जाने र त्यो वातावरण अहिले सरकारले बनाउन नसकेको जानकारी गराएको तर मिडियामा भ्रम फैलाइएको बताए। निर्वाचन भए बुथको सुरक्षाका लागि एमालेको स्वयंसेवक फोर्स खटिनका लागि तयार गर्नुपर्नेमा समेत ओलीले जोड दिएको भट्टले बताए। सरकारले सुरक्षाको ग्यारेन्टी गर्न नसकेको अवस्थामा हरेक टोल र बुथमा सुरक्षा समिति बनाएर मात्र एमाले निर्वाचन होमिने जानकारी गराए।
उपमहासचिव भट्टले रास्वपा र बालेनको विचार सिद्धान्त स्पष्ट नभएको र लेनदेनमा भएको सम्झौता कति समयसम्म टिक्छ भन्ने हेर्न बाँकी रहेको धारणा राखे ।
फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम मिति तोकेको छ। जिल्ला र प्रदेशबाट समानुपातिकका आकांक्षीहरुको नाम संकलन गरेर छोटो सूची तयार गरेको थियो।

























