काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपश्चात प्रवक्ता प्रकाशशरण महतले भोलिसम्म लागि आयोगले समयसीमा तोकेकाले छलफल गरेर टुंग्याउने बताएका हुन्।
उनले सात प्रदेशबाट सिफारिस भएर केन्द्रमा आएका उम्मेदवारको बारेमा प्रदेश-प्रदेशमा छलफल चलिरहेको बताए। उनले भने,‘भोलिसम्म बुझाउने म्याद नै छ। सात प्रदेशका साथीहरु प्रदेश-प्रदेशमा छलफल गर्दै हुनुहुन्छ। त्यसबाट मोटामोटी सूची बनाएर त्यसमा कम्बाइन्ड गरेर र परिमार्जित गरेर बुझाउने तयारी छ।’
जनताबाट अनुमोदन भएर आएपछि मात्रै कानुन निर्माण गर्न सकिने भएकाले पार्टीका लागि आम निर्वाचन महत्त्वपूर्ण हुने उनले बताए। महतले रास्वपा र बालेनबिच भएको गठबन्धन / सहमतिले कुनै फरक नपार्ने टिप्पणी गरे।
सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यसबाट खासै प्रभाव पर्दैन। उहाँहरु दाग रहित, प्रश्न नभएको होइन। न रास्वपा रवि लामिछाने र न बालेनको। सबैको बारेमा धेरै ठूलो प्रश्न उठिरहेको छ, जनताले मूल्याङ्कन गरिरहेका छन्। शासन चलाउने भनेको सुस्पष्ट नीति, दिशा, अनुभव र देशव्यापी संगठन हुनुपर्दछ। त्यसपश्चात मात्र आम नागरिकको विश्वास जित्दछ। अहिले पनि पुरानै दल विश्वसनीय दल हो। अझ कांग्रेस विश्वसनीय छ ।’
























