विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल गम्भीर भूराजनीतिक चक्रव्यूहमा फसेको बताएका छन् । उनले नेपाली राजनीतिका सवालमा निकै गम्भीर र दूरगामी अर्थ राख्ने प्रतिक्रिया दिएका हुन् ।
विराटनगरमा आइतबार राप्रपा मोरङको जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले नेपाल अहिले साधारण राजनीतिक संकटमा नभई प्रत्यक्ष भूराजनीतिक चक्रव्यूहमा फसेको दाबी गरे । उनले अबको चुनौती सरकार बनाउने वा चुनाव जित्ने मात्रै नभएर देशलाई कसरी जोगाउने र कसरी बचाउने भन्ने ऐतिहासिक जिम्मेवारी नेपाली राजनीतिक शक्तिहरूको काँधमा आइपरेको उल्लेख गरे ।
लिङ्देनले नेपालको निर्णायक क्षमता क्रमशः नेपाली जनताको हातबाट बाहिरिँदै गएको बताए। उनले भने, ‘अब नेपालमा कसलाई प्रधानमन्त्री बनाउने,कसलाई जिताउने र कसलाई हराउने भन्ने खेल देशभित्र होइन,देशबाहिरका शक्तिकेन्द्रहरूमा सुरु भइसकेको छ । यसले कुनै एउटा दललाई मात्रै नभएर सम्पूर्ण राजनीतिक प्रणालीमाथि नै प्रश्न उठाएको छ ।’
नेपालको सार्वभौम निर्णय शक्ति कमजोर हुँदै गएको संकेत गर्दै लिङ्देनले यसलाई राष्ट्रिय अस्मितामाथिको गम्भीर खतरा भनेका छन् । लिङ्देनले फागुन २१ गतेका लागि तोकिएको चुनाव समस्याको समाधान नभएको बताए । त्यो चुनाव बरु देशलाई अझै बर्बादी र अनिश्चिततातर्फ धकेल्ने प्रक्रिया भएको उनको आरोप छ । सबै संरचनागत, राजनीतिक र वैचारिक समस्याहरू यथावत् राखेर चुनावमा जानु भनेको अस्थिरतालाई संस्थागत गर्नु बराबर हुने उनको तर्क थियो ।
उनले विशेषगरी जेनजी युवा पुस्तालाई समेटेर सबै राजनीतिक शक्तिहरूबीच गोलमेच सम्मेलनको आवश्यकता औंल्याए । उनका अनुसार नयाँ पुस्ताको असन्तोष,निराशा र अपेक्षालाई बेवास्ता गरेर गरिएको कुनै पनि राजनीतिक प्रक्रिया दीर्घकालीन रूपमा टिकाउ हुँदैन । लिङ्देनले सहमति बिना चुनाव गर्नु भनेको देशलाई फेरि अर्को अस्थिर चक्रमा धकेल्नु भएको भन्दै त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए ।
‘जबसम्म शासन प्रणाली,राष्ट्रिय पहिचान,संघीय संरचना र राजनीतिक दिशाबारे न्यूनतम राष्ट्रिय सहमति बन्दैन,तबसम्म चुनाव सत्ता हस्तान्तरणको औपचारिक अभ्यास मात्रै हुनेछ । यस्तो अभ्यासले देशको मूल समस्यालाई थप जटिल बनाउँछ,’उनले भने ।
उनले नवयुवा पुस्ताको भावना समेटेर सबै शक्तिहरूबीच सहमति भएपछि मात्र चुनाव भए नेपाल सही ट्रयाकमा जान सक्ने दाबी गरे । पुरानो शैलीको राजनीति छाडेर राप्रपा अब नयाँ सोच र दृष्टिकोणका साथ अगाडि बढिरहेको उनको दाबी थियो । आजको पुस्ताले नारामा नभएरस्पष्ट गन्तव्य र दृढ निर्णयमा विश्वास गर्ने बताउँदै लिङ्देनले त्यसअनुसार पार्टीको पुनःसंरचना गर्ने काम भइरहेको जानकारी दिए ।
लिङ्देनले देशलाई दीर्घकालीन द्वन्द्व,अराजकता र सम्भावित गृहयुद्धको अवस्थाबाट बचाउन राजसंस्थासहितको हिन्दु राष्ट्र अपरिहार्य रहेको दाबी दोहोर्याए । उनले यसलाई भावनात्मक मुद्दा नभई राष्ट्रिय स्थायित्वसँग जोडिएको विषयका रूपमा प्रस्तुत गरे । वर्तमान राजनीतिक व्यवस्थाले समाजलाई विभाजनतर्फ धकेलेको र राष्ट्रिय एकताको आधार कमजोर बनाएको उनको आरोप थियो । त्यसैले अब वैचारिक स्पष्टताका साथ वैकल्पिक मार्ग रोज्न ढिला भइसकेको संकेत उनले गरेका छन् ।
संघीयता नचाहने र विचार मिल्ने सबै शक्तिहरूसँग सहकार्य गरेर अगाडि बढ्न राप्रपाले छलफल तीव्र बनाएको जानकारी उनले दिए । उनका अनुसार अब विचार मिल्ने शक्तिहरू एउटै साझा मञ्चमा गोलबन्द हुने समय आएको छ । राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको मुद्दामा स्पष्ट धारणा राख्नेहरूका लागि राप्रपा साझा घर भएको उनको दाबी थियो ।
कार्यक्रममा उनले पार्टीभित्रको एकतामाथि पनि विशेष जोड दिए । पूर्वअध्यक्ष कमल थापासँगको सम्बन्धका बारेमा पनि लिङ्देनले बोलेका छन् । उनले कमल थापा झोकाझोकमै पार्टी छाडेर गएको स्मरण गराउँदै अहिले आपसी संवाद र समझदारीपछि घर फर्किएको बताए । कमल थापाको आगमन व्यक्तिको आगमन मात्र नभएर पार्टी एकताको सन्देश भएको उनले बताए ।
अन्य रुष्ट नेता तथा कार्यकर्ताहरूलाई पनि पार्टीमा फर्कन आग्रह गर्दै लिङ्देनले अब आपसी विवाद गरेर बस्ने समय समाप्त भएको स्पष्ट पारे । पार्टीभित्रको आन्तरिक कलहले संगठनलाई कमजोर बनाउने र त्यसले आन्दोलन तथा चुनाव दुवैलाई असम्भव बनाउने चेतावनी उनले दिए । ‘आपसमै लडेर बस्ने हो भने भोलि न जनताले पत्याउँछन्,न त अन्तिम समयमा झण्डा ओढाइदिने मान्छे नै बाँकी रहन्छ,’उनले भने ।
उनका अनुसार यो समयमा संगठन सुदृढीकरण,वैचारिक स्पष्टता र राष्ट्रिय एजेन्डामा केन्द्रित हुने हो । ‘राप्रपा कमजोर रहँदा न राजसंस्था पुनःस्थापना सम्भव छ,न त हिन्दु राष्ट्रको एजेन्डा अघि बढ्न सक्छ,’उनी भन्छन् ।
लिङ्देनले केन्द्रदेखि स्थानीय तहसम्म पार्टीलाई एकढिक्का बनाउने अभियान सुरु भइसकेको जानकारी दिँदै समान विचार भएकाहरूलाई मिलाउने काम तीव्र पारिएको बताए । आफ्नै जीवनकालमा देश बनेको देख्न चाहनेहरूका लागि राप्रपामा जोडिनुको विकल्प नरहेको दाबी गर्दै उनले पार्टीलले राष्ट्रिय अभियान चलाउने बताए ।
























