काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ। आयोगको आइतबार बसेको बैठकले आचारसंहिता पारित गरेको हो। प्रतिनिधि सभाको निर्वाचन आउँदो फागुन २१ गतेका लागि तय गरिएको छ ।
स्वीकृत आचारसंहितामा राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारका क्रममा प्रयोग गर्न पाउने सामग्री र साधनबारे स्पष्ट व्यवस्था गरिएको छ। प्रचारप्रसारका क्रममा घोडादेखि हेलिकप्टरसम्म प्रयोग गर्न पाइने उल्लेख गरिएको छ।
आचारसंहिताअनुसार राजनीतिक दलले अधिकतम दुई जना ‘मुख्य (स्टार) प्रचारक’को नाम आयोगमा बुझाउनुपर्नेछ। आयोगबाट अनुमति प्राप्त भएपछि ती दुई जना मुख्य प्रचारकले मात्रै हेलिकप्टर सेवा प्रयोग गर्न पाउनेछन्। सवारी साधन प्रयोगसम्बन्धी व्यवस्थाको दफा १४(छ) मा यसबारे स्पष्ट व्यवस्था गरिएको छ।
त्यसैगरी, उम्मेदवारले चुनावी प्रचारका लागि दुई वटा दुईपांग्रे, तीनपांग्रे वा चारपांग्रे सवारी साधन प्रयोग गर्न पाउनेछन्। गाडी चल्न नसक्ने स्थानमा चार वटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। तर, विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्न भने पूर्ण रूपमा निषेध गरिएको छ।
आचारसंहिताले राष्ट्रिय झण्डाको प्रयोगमा पनि कडाइ गरेको छ। राजनीतिक दल वा उम्मेदवारले चुनावी प्रचारका क्रममा १० वटाभन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।
यसपटकको आचारसंहितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगसम्बन्धी व्यवस्था पनि समेटिएको छ। एआईको प्रयोग गरेर निर्वाचनलाई प्रभाव पार्ने, होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना प्रवाह गर्ने, अपमानजनक वा द्वेषपूर्ण भाषण गर्न नपाइने स्पष्ट गरिएको छ।
आचारसंहितामा सामाजिक सञ्जालमा एआई प्रयोग गरेर वा नगरी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सूचना वा सामग्री तोडमोड गरी पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्न नहुने उल्लेख गरिएको छ। आयोगले आचारसंहिता कडाइका साथ पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ।

























