काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । ११औँ महाधिवेशनपछि पहिलो पटक बसेको सचिवालय बैठक केही बेरअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रारम्भ भएको हो ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समानुपातिक तर्फका उम्मेदवारबारे मुख्य रूपमा छलफल भइरहेको छ । यसका साथै समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचनको तयारीलगायत विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ ।
निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची भोलिसम्म बुझाउनुपर्ने अन्तिम मिति तोकेको छ। सोही कारण आजकै बैठकबाट एमालेले समानुपातिक उम्मेदवारको टुंगो लगाउने तयारी गरेको छ ।
जिल्ला र प्रदेशबाट आएका समानुपातिक आकाङ्क्षीहरूको नाम संकलन गरी पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारेको जनाइएको छ ।
यसअघि बैठक र स्पष्ट मापदण्डविनै उम्मेदवार सूची तयार पारिएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको थियो । सोही विषयलाई लिएर सचिवालय बैठक बोलाउन दबाब बढेपछि आज बैठक बसेको हो ।

























