
काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागार तोडफोड र आगजनीपछि फरार भएका कैदीबन्दीहरूमध्ये करिब १० हजार जनालाई पक्राउ गरी पुनः कारागार चलान गरिएको छ ।
नेपाल प्रहरीका अनुसार आन्दोलनका बेला फरार भएका कुल १४ हजार ५४० कैदीबन्दीमध्ये ९ हजार ९६० जनालाई नियन्त्रणमा लिइसकिएको छ। बाँकी ४ हजार ५८० कैदीबन्दी भने अझै फरार रहेका छन्। उनीहरूको खोजीका लागि विशेष अपरेसन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
फरारमध्ये केही विदेशी नागरिकसमेत रहेका छन्। तीमध्ये धेरैजसो भारतीय नागरिक भएकाले उनीहरू भारततर्फ भागिसकेको आशंका गरिएको छ। अन्य केही कैदीबन्दीहरू भने लुकिछिपी बसेको अनुमान गर्दै प्रहरीले विशेष अभियानमार्फत खोजी तीव्र बनाएको छ।
फरार कैदीबन्दीहरू देशबाहिर नभागून् भन्ने उद्देश्यले अध्यागमन विभागले उनीहरूलाई कालोसूचीमा राखिसकेको प्रहरीको भनाइ छ।
७३३ लुटिएका हतियार फिर्ता
जेनजी आन्दोलनका क्रममा लुटिएका सुरक्षा निकायका ७३३ थान हतियार फिर्ता भएका छन्। गृह मन्त्रालयका अनुसार भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीका हतियारहरू लुटपाट भएका थिए।
आन्दोलनका बेला नेपाल प्रहरीका मात्रै १ हजार २७१ थान हतियार लुटिएका थिए भने सशस्त्र प्रहरीका समेत गरी करिब १३ सयको हाराहारीमा हतियार हराएको विवरण छ। तीमध्ये हालसम्म ७३३ हतियार फिर्ता भइसकेका छन् भने करिब साढे ५ सय हतियार अझै बरामद हुन बाँकी छन्।
सुरक्षा निकायको विश्लेषणअनुसार अझै फेला नपरेका हतियारमध्ये केही प्रदर्शनकारीहरूले खोलानाला वा झाडीमा फ्याँकेको हुनसक्छ भने केही हतियार सीमित संख्यामा आपराधिक पृष्ठभूमिका व्यक्तिले लुकाएर राखेको आशंका गरिएको छ।
गृह मन्त्रालयमा भएको ब्रिफिङका क्रममा एक सुरक्षा अधिकारीले धेरैजसो हतियार फिर्ता भइसकेको र बाँकीको खोजी तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्।
प्रहरीले लुटिएका हतियारको खोजीका क्रममा विशेष योजना बनाएर काम गरिरहेको र त्यसक्रममा लुटिएका बाहेक थप ३२ थान हतियारसमेत बरामद गरिएको जनाएको छ।

























