काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी विद्रोहीहरुलाई अपराधी करार गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् । महासचिव विप्लवले जेन–जी विद्रोहले बनाएको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले काँग्रेस, एमाले र माओवादीका कार्यकर्तालाई देखाएर जेन–जी विद्रोहीहरुलाई अपराधी करार गर्ने काम गरिरहेकाले देशको अवस्था बेहाल हुन पुगेको जिकिर समेत गरे ।
विभिन्न फुटेजहरु हेरेर काँग्रेस, एमालेका कार्यकर्ताहरुले मेरो घर जलाएको रहेछ भन्न लगाएर सरकारले जेन–जी विद्रोहीहरुलाई घुमाउरो पाराले अपराधी बनाउने कोशिस गरिरहेको उनको भनाई थियो ।
महासचिव विप्लवले जेन–जी विद्रोह असफल भईसकेको र त्यसमा सरकारको भुमिका रहेको दाबी समेत गरे ।
विगतमा विद्रोहलाई पनि आतंककारी भनेर बद्नाम गर्न खोजिएको भन्दै महासचिव विप्लवले अहिले जेनजी विद्रोहलाई पनि बद्नाम गराउने काम भएको बताए ।
























