काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाएमा चुनावमा जान तयार भएको बताएका छन्। आज प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको बैठकमा अध्यक्ष ओलीले चुनावी वातावरण बनाएमा निर्वाचनमा जाने बताएका सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरूले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका प्रवक्ता खरेलले बताए। त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आफूहरू चुनावमा जान तयार रहेकाे तर त्यसका लागि सरकारले सुरक्षाकाे वातावरण बनाउनुपर्ने बताए।
प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई भाग लिन आग्रह गर्दै सरकारले निर्वाचनको वातावरण बनाउने बताइन्।
छलफलमा प्रधानमन्त्री कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल लगायत सहभागी थिए ।
























