काठमाडौँ । मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरिएको छ। १एमडीबी सरकारी लगानी कोषबाट करोडौँ अमेरिकी डलर दुरुपयोग गरेको अभियोगमा उनलाई दोषी ठहर गरिएको हो।
मलेसियाको उच्च अदालतले ७२ वर्षीय नाजिबलाई शक्तिको दुरुपयोग गरेको चारवटा अभियोगमा दोषी ठहर गरेको हो भने मनी लन्ड्रिङसम्बन्धी थप अभियोगहरूको फैसलाको प्रक्रिया जारी रहेको जनाइएको छ।
अभियोजन पक्षका अनुसार नाजिबले १एमडीबी कोषबाट आफ्नो व्यक्तिगत बैंक खातामा ७० करोड डलरभन्दा बढी रकम हिनामिना गरेका थिए नाजिबले भने सबै आरोप अस्वीकार गर्दै उक्त रकम साउदी अरेबियाबाट आएको राजनीतिक चन्दा भएको र लो टेक झो नेतृत्वका दुष्ट वित्तदाताहरूले आफूलाई छलमा पारेको दाबी गरेका छन्। तर घोटालाको मुख्य योजनाकार मानिने लो अझै फरार छन्।
न्यायाधीश कोलिन लरेन्स सेक्वेराहले नाजिबको साउदी अनुदानसम्बन्धी दाबी ‘विश्वास गर्न नसकिने’ रहेको टिप्पणी गरेका छन्। उनका अनुसार साउदी दातासँग सम्बन्धित प्रस्तुत गरिएका चारवटा पत्र नक्कली थिए र प्रमाणहरूले स्पष्ट रूपमा रकम १एमडिबीबाटै आएको देखाएको छ। साथै, नाजिब आफू ठगिएको निर्दोष व्यक्ति भएको भन्ने प्रतिरक्षाको तर्क पनि अदालतले अस्वीकार गरेको छ।
न्यायाधीशले नाजिब र लो टेक झोबीचको ‘घनिष्ठ र अटुट सम्बन्ध’ रहेको उल्लेख गर्दै लोले १एमडिबीमा नाजिबका लागि प्रतिनिधि, मध्यस्थ र सहजकर्ताको भूमिका खेलेको टिप्पणी गरे। उनले नाजिबले ठूलो रकमको स्रोतबारे जाँच नगरेको, शंकास्पद रकम प्रयोग गरेको र अनुसन्धान गरिरहेका तत्कालीन महान्यायाधिवक्ता तथा भ्रष्टाचारविरोधी प्रमुखलाई हटाएर आफ्नो पद जोगाउने प्रयास गरेको पनि उल्लेख गरे। (रासस/एपी)

























