काठमाडाैं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीको कपिलवस्तु र अर्घाखाँचीमा रहेको श्रम शिविरहरुमा प्रहरीहरुले अपरेशन गरेर सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा नभई युद्धमा होम्ने चेष्टा गरिरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनले सो ठाउँमा रहेका प्रहरी तत्काल फिर्ता बोलाउने काम नगरे सरकारविरुद्ध कडा संघर्षमा होमिने चेतावनी समेत दिए । सरकारले चुनाव गर्न चाहेको हो कि युद्ध ? प्रधानमन्त्री कार्कीलाई विप्लवको प्रश्न थियो । उनले सो ठाउँबाट प्रहरी फिर्ता बोलाउने र अपरेशनमा जाने काम गलत थियो भनेर माफी नमागे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने समेत बताए ।
महासचिव विप्लवले निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने समेत घोषणा गरे ।

























